पहिरोको जोखिम बढेपछि आज राति पनि नारायणगढ–मुग्लिन सडकमा सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षा र पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चितवन जिल्ला प्रशासन कार्यालयले आइतबार राति पनि नारायणगढ–मुग्लिन सडकखण्ड तथा मुग्लिनदेखि परको पृथ्वीराजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार राति १० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइनेछ।

यसअघि शनिबार राति पनि सो सडकमा सवारी आवागमन रोकिएको थियो। तर अपेक्षाअनुसार वर्षा नभएको र पहिरोको जोखिम कम देखिएपछि आइतबार बिहान उज्यालोसँगै सडक सञ्चालनमा ल्याइएको थियो।

सडक खुलेलगत्तै केही चालकले लेन अनुशासन उल्लंघन गर्दै सवारी चलाउँदा मुग्लिन नजिकै जलबिरे क्षेत्रमा दुई यात्रुबाहक बस र एउटा ट्रक एकआपसमा ठोक्किएका थिए। दुर्घटनाका कारण केही समय सडक अवरुद्ध हुनुका साथै करिब ३० जना यात्रु घाइते भएका थिए।

रात्रिकालीन सवारी रोकिएको अवधिमा कुनै पनि आपत्कालीन सहायता आवश्यक परेमा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ताको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *