काठमाडौं । अविरल वर्षापछि ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरेमा गएको पहिरोले कान्तिलोकपथको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। सडकमा ठूलो परिमाणमा माटो र ढुंगा खस्दा हेटौंडा–काठमाडौं जोड्ने यो मार्ग अनिश्चितकालका लागि बन्द भएको हो।
प्रहरीका अनुसार पहिरो पन्छाउने तयारी भइरहेको भए पनि वर्षा नरोकिएकाले थप पहिरो खस्ने खतरा कायम छ। यही कारण सडक तत्काल सञ्चालनमा ल्याउने अवस्था नरहेको जनाइएको छ।
काठमाडौं र हेटौंडाबीच छोटो दूरीका कारण धेरैले रोज्ने कान्तिलोकपथ वर्षायाम लाग्नासाथ जोखिमपूर्ण बन्ने गरेको छ। पाङदुरे, गिम्दी, भर्याङडाँडा, ठिंगन र बागमती पुल आसपासका क्षेत्रमा हरेक वर्ष पहिरो र ढुंगा झर्ने घटनाले सडक पटक–पटक अवरुद्ध हुने गरेको छ।
यसपटक पनि सडक बन्द भएपछि दैनिक आवतजावत गर्ने यात्रु र सवारी चालक वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। जसका कारण गन्तव्यमा पुग्न बढी समय लाग्नुका साथै यात्राको खर्चसमेत बढ्ने अवस्था सिर्जना भएको छ।
स्थानीयवासीले हरेक वर्ष एउटै समस्या दोहोरिए पनि यसको स्थायी समाधानतर्फ प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन्। जोखिमयुक्त स्थानको संरक्षण, पहिरो नियन्त्रण तथा सडक संरचना मजबुत बनाउने काममा पर्याप्त ध्यान नदिँदा वर्षायाम सुरु हुनासाथ कान्तिलोकपथ प्रभावित हुने क्रम जारी रहेको उनीहरूको भनाइ छ ।
प्रहरीले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। उता, जिल्ला प्रशासन कार्यालय मकवानपुरले वर्षायामको जोखिमलाई मध्यनजर गर्दै कान्तिलोकपथमा रातिको सवारी आवागमनमा रोक लगाएको जनाएको छ। मौसममा सुधार नआएसम्म सडक पूर्ण रूपमा सञ्चालनमा आउने समय भने निश्चित भइसकेको छैन।