काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकका लागि अब मासिक किस्ता तिर्न झन् सहज हुने भएको छ। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)सँगको सहकार्यमा नयाँ फाइनान्स योजना सार्वजनिक गरेको हो।
नयाँ योजनाअनुसार ग्राहकले अब बजाज मोटरसाइकल खरिद गर्दा पाँच वर्ष (६० महिना) सम्मको ऋण सुविधा लिन सक्नेछन्। यसअघि तीन वर्षसम्म मात्र उपलब्ध रहेको ऋण अवधि बढाइएपछि मासिक किस्ता उल्लेख्य रूपमा घट्ने कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ। यसले ग्राहकको मासिक आर्थिक भार थप कम हुने कम्पनीको दाबी छ।
यो सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४०० सम्मका सबै बजाज मोटरसाइकलमा लागू हुनेछ। कम्पनीका अनुसार प्लाटिना १०० ईएस खरिद गर्दा मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँ पुगेको छ, जसबाट ग्राहकले प्रत्येक महिना करिब १ हजार १३१ रुपैयाँ बचत गर्नेछन्।
त्यसैगरी, डोमिनार ४०० को मासिक किस्ता ८ हजार २२७ रुपैयाँबाट घटेर ५ हजार ३७० रुपैयाँ मा झरेको छ। यसबाट ग्राहकले मासिक करिब २ हजार ८५७ रुपैयाँ बचत गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर एनएस२००, पल्सर एन२५० र एनएस४००जेड लगायतका अन्य मोडलमा पनि मासिक किस्ता घटाइएको छ।
एचएच बजाजले यो योजना सीमित अवधिको अफर नभई दीर्घकालीन वित्तीय सुविधा भएको जनाएको छ। ग्राहकलाई एकमुष्ट मूल्यभन्दा मासिक किस्ता व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले ऋण अवधि बढाउनुका साथै ब्याजदर घटाइएको कम्पनीको भनाइ छ।
यो फाइनान्स सुविधा नेपाल राष्ट्र बैंकबाट नियमन प्राप्त हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत देशभर रहेका एचएच बजाजका शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।