काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्य सरकारले विद्युतीय सवारी (ईभी) खरिदलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ अनुदान कार्यक्रम सार्वजनिक गरेको छ। संघीय सरकारले ईभी खरिदमा दिँदै आएको कर छुट अन्त्य गरेपछि त्यसको विकल्पस्वरूप राज्य सरकारले यो योजना लागू गर्न लागेको हो।
नयाँ व्यवस्थाअनुसार योग्य ग्राहकले नयाँ ईभी खरिद गर्दा अधिकतम ३ हजार ५०० अमेरिकी डलरसम्म र प्रयोग भइसकेको (सेकेण्ड ह्याण्ड) ईभी खरिद गर्दा १ हजार ७५० डलरसम्मको छुट पाउनेछन्। यो रकम गाडी खरिदकै समयमा मूल्यबाट घटाइने व्यवस्था गरिएको छ।
राज्य सरकारले यो सुविधा ५० हजार अमेरिकी डलरभन्दा कम मूल्यका नयाँ ईभी र २५ हजार डलरभन्दा कम मूल्यका प्रयोग भएका ईभीमा मात्र लागू हुने जनाएको छ। यद्यपि, क्यालिफोर्नियामै मुख्यालय रहेका लुसिड र रिभियनका सबै मोडल भने मूल्य सीमाबिनै योजनामा समावेश हुनेछन्।
यस योजनाअन्तर्गत फोर्ड, जनरल मोटर्स, होण्डा, हुन्डाई, किया, लुसिड, मित्सुबिसी, निसान, रिभियन, सुबारु, टेस्ला, टोयोटा र भोल्भोका विद्युतीय सवारी खरिद गर्ने उपभोक्ताले लाभ लिन सक्नेछन्।
तर बीएमडब्लू, मर्सिडिज–बेन्ज, अडी, फक्सवागेन, जीप, डज र मसेराटीजस्ता प्रिमियम ब्रान्ड भने कार्यक्रममा समावेश छैनन्। ती कम्पनीका अधिकांश ईभीको मूल्य तोकिएको सीमाभन्दा माथि रहेकाले उनीहरू योजनाबाहिर परेका हुन्।
कार्यक्रममा सहभागी केही कम्पनीसँग भने हाल मूल्य सीमाभित्र पर्ने नयाँ ईभी उपलब्ध छैन। उदाहरणका लागि, होण्डा प्रोलगको उत्पादन यसै वर्ष बन्द हुँदैछ भने भोल्भोको एक्ससी३० अमेरिकी बजारबाट हटाइसकिएको छ।
राज्य सरकार र अटो निर्माता कम्पनीहरूको साझेदारीमा ल्याइएको यस योजनाअनुसार नयाँ ईभीमा दिइने ३ हजार ५०० डलर छुटमध्ये आधा अर्थात् १ हजार ७५० डलर निर्माता कम्पनीले र बाँकी १ हजार ७५० डलर क्यालिफोर्निया सरकारले व्यहोर्नेछ।
प्रयोग भइसकेका ईभीमा दिइने छुटको कार्यान्वयन प्रक्रिया भने अझै अन्तिम टुंगोमा पुगेको छैन।
संघीय कर छुट हटाइएपछि अमेरिकी ईभी बजार सुस्ताउने चिन्ता बढिरहेका बेला क्यालिफोर्नियाको यो योजना विद्युतीय सवारीको माग कायम राख्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। अमेरिकाको सबैभन्दा ठूलो ईभी बजार रहेको क्यालिफोर्नियाको यो निर्णयले अन्य राज्यका नीतिमा पनि प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।