काठमाडौं । विद्युतीय सवारी निर्माता टेस्लाले दुईदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै नयाँ ब्यालेन्स बाइक सार्वजनिक गरेको छ। कम्पनीले यसलाई आफ्नो लाइफस्टाइल उत्पादन श्रृंखलाअन्तर्गत बजारमा ल्याएको हो।
कम्पनीका अनुसार बाइकको मूल्य २२५ अमेरिकी डलर निर्धारण गरिएको छ। यो जुलाई ३१ देखि बिक्रीका लागि उपलब्ध हुनेछ भने ग्राहकले अगस्टको अन्त्यबाट डेलिभरी पाउनेछन्।
सामान्य साइकलभन्दा फरक, यसमा प्याडल राखिएको छैन। बालबालिकाले खुट्टाको सहायताले अगाडि बढ्दै दुई पाङ्ग्रामा सन्तुलन कायम गर्न सिकून् भन्ने उद्देश्यले यसको डिजाइन गरिएको टेस्लाले जनाएको छ। यसले पछि प्याडल भएको साइकल चलाउन सिक्ने प्रक्रिया पनि सहज बनाउने कम्पनीको विश्वास छ।
बाइकमा हल्का तौलको म्याग्नेसियम फ्रेम प्रयोग गरिएको छ। टेस्लाको परिचित मिनिमलिस्ट डिजाइनलाई कायम राख्दै यसलाई आधुनिक र आकर्षक स्वरूप दिइएको छ। फ्रेममा कम्पनीको लोगो र ब्रान्डिङ पनि स्पष्ट रूपमा राखिएको छ।
यसको अर्को विशेषता भनेको उचाइ मिलाउन सकिने सिट हो। बालबालिकाको उचाइअनुसार सिटलाई पाँच तहसम्म समायोजन गर्न सकिन्छ। कम्तीमा ३५ सेन्टिमिटर खुट्टाको लम्बाइ भएका बालबालिकाले यो बाइक प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
बाइकको तौल करिब ३ किलोग्राम रहेको छ भने यसले अधिकतम ३५ किलोग्रामसम्म भार थेग्न सक्छ। ग्राहकले बाइक आफैं जोड्नुपर्ने भए पनि आवश्यक सबै उपकरण प्याकेजमै उपलब्ध गराइने टेस्लाले जनाएको छ।
टेस्लाले यसअघि साइबरभिसल, टकीला, मग, कपडा लगायत विभिन्न सीमित संस्करणका लाइफस्टाइल उत्पादन बजारमा ल्याइसकेको छ। ती उत्पादन छोटो समयमै बिक्री हुने क्रमलाई हेर्दा नयाँ ब्यालेन्स बाइक पनि छिट्टै ‘आउट अफ स्टक’ हुन सक्ने अनुमान गरिएको छ। बालबालिकालाई लक्षित यो उत्पादनसँगै टेस्लाले आफ्नो लाइफस्टाइल उत्पादन पोर्टफोलियोलाई थप विस्तार गरेको छ।