काठमाडौं– नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेका बेला सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा शनिबार ‘नागढुंगा टनेल रन एन्ड वाक’ कार्यक्रम सम्पन्न भएको छ।
सर्वसाधारणलाई सुरुङमार्गबारे जानकारी गराउनुका साथै यसको महत्व र उपयोगिताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दौड तथा पदयात्रा कार्यक्रम आयोजना गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयले जनाएको छ।
आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गको सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको छ र यही साउनभित्र सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य राखिएको छ।
काठमाडौंको मुख्य प्रवेशद्वार मानिने नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण गरिएको यो सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो छ। प्रारम्भिक ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने भए पनि निर्माण कम्पनीको ढिलासुस्ती तथा स्थानीय अवरोधका कारण काम निर्धारित समयमै सकिन सकेन।
आयोजनाका अनुसार नागढुंगा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुईपांग्रे बाहेक आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।
आयोजनाले सुरुङमार्गमा भने दुईपांग्रे सवारीसाधन सञ्चालन गर्न नपाइने स्पष्ट गरेको छ।