काठमाडौं । लगातारको वर्षापछि गएको पहिरोले फुङ्लिङ नगरपालिका–१० फुरुम्बु क्षेत्रमा ग्रामीण सडक, विद्युत तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ।
शुक्रबार राति परेको वर्षाका कारण फुरुम्बुको ओठेखोला क्षेत्रमा सडकमाथिबाट पहिरो खसेको वडा अध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए।
उनका अनुसार पहिरोले सुकेटार–हान्देवा–फुरुम्बु हुँदै लिंखिम जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यस्तै, आठे, निभारे र कार्कीचोक हुँदै वैशाखेसम्म जोडिने सडक पनि बन्द भएपछि शनिबार बिहानदेखि उक्त क्षेत्रमा यातायात सेवा ठप्प भएको छ।
पहिरोसँगै ढलेका रुखले विद्युतका पोल, प्रसारण लाइन तथा इन्टरनेटका तारमा क्षति पुर्याएको छ। विद्युतको पोल ढलेपछि त्यसैमार्फत विस्तार गरिएको इन्टरनेट सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको वडा अध्यक्ष लिम्बूले बताए। शुक्रबार रातिदेखि नै फुरुम्बु क्षेत्रमा विद्युत सेवा बन्द रहेको छ।
विद्युत आपूर्ति बन्द भएपछि विद्युतीय उपकरणमा निर्भर सबै सेवा प्रभावित भएका छन्। विद्युत र इन्टरनेट सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको भए पनि मर्मतमा समय लाग्ने लिम्बूले बताए।
उनका अनुसार सडक खुलाउन र विद्युत सेवा पुनः सञ्चालन गर्न एक्स्काभेटर वा जेसिभीको आवश्यकता परेको छ। “गाउँलेले श्रमदान गर्न तयार छन्, तर मान्छेको बलले मात्र पहिरो हटाउन सम्भव छैन। त्यसैले मेसिनको आवश्यकता परेको हो,” उनले भने।