एक महिनामै भेटिए चोरी तथा हराएका ५१ मोटरसाइकल–स्कुटर

काठमाडौं । काठमाडौं उपत्यकाबाट चोरी तथा हराएका सवारी साधन खोज्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी देखिएको छ। अभियानका क्रममा फेला परेका ५१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो एक महिनामा विभिन्न स्थानबाट ३५ मोटरसाइकल र १६ स्कुटर फेला पारेको हो। बरामद सवारी साधन सोमबार आयोजित कार्यक्रममा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

सवारी साधन हस्तान्तरण गर्दै कार्यालयका एसएसपी सुरेश काफ्लेले चोरी नियन्त्रण तथा हराएका मोटरसाइकल र स्कुटर खोज्न विशेष अपरेसन सञ्चालन गरिएको बताए। अभियानलाई तीव्र बनाइएकै कारण ठूलो संख्यामा सवारी साधन फेला पार्न सफल भएको उनको भनाइ छ।

वर्षौँअघि हराएका सवारी साधनसमेत फिर्ता पाएपछि सवारी धनीले खुसी व्यक्त गरेका छन्। उनीहरूले हराएका सवारी खोज्न ट्राफिक प्रहरीले देखाएको सक्रियताको प्रशंसा गरेका छन्।

ट्राफिक प्रहरीले सवारी पार्किङ गर्दा सुरक्षित स्थान छनोट गर्न तथा चोरीबाट जोगाउन ह्विल लकसहितका सुरक्षा उपाय अपनाउन सवारी चालकलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *