अनुभव श्रेष्ठ एनवाईईएफ काठमाडौंको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ। साधारण सभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो।

श्रेष्ठ लक्ष्मी ग्रुपका निर्देशक हुन्। लक्ष्मी ग्रुपले नेपालमा हुन्डाई, एसएमएल इसुजु, बीएमडब्लु लगायतका सवारीसाधनको बिक्री–वितरण गर्दै आएको छ। यसबाहेक समूह कन्फेक्सनरी, डेरी, प्लास्टिक, इलेक्ट्रोनिक्स र स्टिल उद्योगमा पनि सक्रिय छ।

पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले एनवाईईएफलाई युवा उद्यमीका लागि सिकाइ, सहकार्य, मार्गदर्शन र अवसरको साझा मञ्चका रूपमा अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले उद्यमशीलताले रोजगारी सिर्जना, नवप्रवर्तन र देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताए।

उनले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य विस्तार गर्दै ज्ञान आदान–प्रदान र जिम्मेवार नेतृत्व विकासमा जोड दिने योजना पनि सुनाए।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपालको आर्थिक विकासमा युवा उद्यमीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई नवप्रवर्तन र उद्यमशीलतामा प्रोत्साहन गर्नुपर्ने बताए।

विशिष्ट अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली युवाको सिर्जनशीलता र प्रविधिमैत्री सोचले देशको आर्थिक रूपान्तरणमा ठूलो योगदान पुर्‍याउन सक्ने बताए। उनले युवा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धनका लागि एनवाईईएफसँग सहकार्य अझ सुदृढ बनाइने बताए।

कार्यक्रममा उद्यमशीलता, स्टार्टअप, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष अप्पा शेर्पा, प्रथम उपाध्यक्ष सन्दिप शर्मा, द्वितीय उपाध्यक्ष सौरभ श्रेष्ठ तथा सदस्यहरूमा सायन प्रजापती, सन्तोष पाण्डे, आश्लेषा कार्की, छेची शेर्पा, सरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रयान्शी जालान रहेका छन्।

नवनिर्वाचित कार्यसमितिले युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन, जिम्मेवार व्यवसायिक नेतृत्व विकास र युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्ने लक्ष्यसहित काम गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *