पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घट्याे

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ ।

यस्तै, हवाई इन्धन (आन्तरिक तर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रिय तर्फ) काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ ।

यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो ।

यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर रु १९४.५० र डिजेल प्रतिलिटर रु १९२.५० कायम गरिएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य रु १९४ तोकिएको छ ।

हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर रु २२९ कायम भएको छ ।

यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रति किलोलिटर कायम गरिएको छ ।

मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब रु दुई हजार ०६० मा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार १६० रहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *