हुन्डाई मोटर इन्डियाले गएको जुन महिनामा साढे ५१ हजार युनिट गाडी बिक्री गरेको बताइएको छ।
कम्पनीले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२६ को जुन महिनामा कुल ५१ हजार ३३५ युनिट सवारी बिक्री गरेको जनाएको छ । गत वर्ष सोही महिनाको तुलनामा कम्पनीको बिक्री १५.७४ प्रतिशत अर्थात् ९ हजार ५८९ युनिटले घटेको हो । गत वर्षको जुनमा हुन्डाईले ६० हजार ९२४ युनिट गाडी बिक्री गरेको थियो ।
तर सन् २०२६ जुनमा कम्पनीको घरेलु बिक्री र निर्यात दुवैमा गिरावट आएको बताएको छ । ९.९७ प्रतितशले घटेको घरेलु बिक्री ३९ हजार ६३५ युनिटमा सीमित भएको छ । गत वर्ष जुनमा ४४ हजार २४ युनिट गाडी बिक्री गरेको कम्पनीको दावी छ ।
त्यस्तै, कम्पनीको निर्यात जुनमा ३०.७७ प्रतिशतले घटेको छ । गत वर्ष जुनमा १६ हजार ९०० युनिट गाडी निर्यात गरेको कम्पनीले यो वर्ष ११ हजार ७०० युनिटमा सीमित भएको छ ।
आफ्नो एक प्रमुख आपूर्तिकर्ता ९सप्लायर०को उत्पादन केन्द्रमा आगलागी हुँदा गाडी सामान आपूर्ति केही समय अवरुद्ध हुँदा उत्पादन परिमाणमा गिरावट आएको हुन्डाईले जनाएको छ । उक्त आगलागीका कारण जुन महिना कम्पनीले करिब १३ हजार ९०० युनिट गाडी उत्पादनमा नोक्सानी बेहोर्नुपरेको थियो ।
उत्पादनमा परेको संकटलाई कम गर्न हुन्डाईले वैकल्पिक स्थानहरूबाट अटोमोबाइलका पार्टपुर्जाहरू आयात गरी आफ्ना प्लाण्टहरूमा उत्पादन प्रक्रिया सुचारु राख्ने प्रयास गरेको थियो। गत जुन २२ देखि सबै प्लाण्टहरूबाट पूर्ण रूपमा उत्पादन सुरू भइसकेको कम्पनीले बताएको छ ।
हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने नआइसकेको कम्पनीले जानकारी गराएको छ । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहने अनुमान गर्न सकिन्छ । कम्पनीले सन् २०२५ को नोभेम्बरमा बजारमा ल्याएको न्यू जेन भेन्युमा ग्राहकको आकर्षण उच्च देखिएको छ ।