काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १५७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १०५ जना तथा तीव्र गतिमा सवारी चलाउने ११७ जनामाथि कारबाही गरिएको हो।
त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसा प्रयोग गरेका २२ जना र एकतर्फी सडकमा सवारी चलाउने ५४ जना चालक पनि कारबाहीमा परेका छन्।
यसका अतिरिक्त अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ५३८ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।