कावासाकीले आफ्नो लोकप्रिय अफरोड मोटरसाइकल केएलएक्स २३० को सन् २०२७ का लागि नयाँ अपडेट भर्सन पेश गरेको छ। यससँगै कम्पनीको अफरोड रेन्जमा अब केएलएक्स २३०, केएलएक्स २३० एस र केएलएक्स २३० आरएस गरी तीनवटा मोडल उपलब्ध गराएको छ।
नयाँ केएलएक्स २३० एस विशेष रूपमा अग्लो मोटरसाइकल चलाउन असहज हुने राइडरलाई ध्यानमा राखेर तयार गरिएको हो। यसमा स्ट्यान्डर्ड केएलएक्स २३० मा प्रयोग गरिएको इन्जिन नै प्रयोग गरिएको छ । यसको सिटको उचाइ ८८० एमएमबाट घटाएर ८३० एमएम बनाइएको छ। साथै ग्राउन्ड क्लियरेन्स पनि २५५ एमएमबाट घटाएर २२० एमएम राखिएको छ।
केएलएक्स २३० आरएस भने अफरोड र रेसिङका लागि मात्र तयार गरिएको मोडल हो। यसमा हेडलाइट, इन्डिकेटर र रोड इक्विपमेन्ट उपलब्ध गराएको छैन । सो मोडलमा ९०० एमएमको सिट उचाइ र २७० एमएमको ग्राउन्ड क्लियरेन्स राखिएको छ।
केएलएक्स २३० रेन्जका तीनवटै मोडलमा २३३ सीसी क्षमताको सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल–इन्जेक्टेड इन्जिन जडान गरिएको छ। सो इन्जिनले १९ हर्सपावर र १९ एनएमको टर्क उत्पादन गर्छ र यसको इन्जिन ६ स्पिड गियरबक्स जोडिएको छ ।
साथै कम्पनीले यी मोटरसाइकलको मूल्य पनि परिमार्जन गर्दै नयाँ मुल्य निर्धारण गरेको छ। केएलएक्स २३० आर एसको मूल्य १० हजार भारु बढाएर १ लाख ८९ हजार भारु तोकेको छ, जसको डेलिभरी अगस्ट २०२६ देखि सुरु हुनेछ।
स्ट्यान्डर्ड केएलएक्स २३० को मूल्य २ लाख १९ हजार भारु कायम गरिएको छ। नयाँ केएलएक्स २३० एसको मूल्य पनि २ लाख १९ हजार भारु तोकिएको छ। यी दुवै मोडलको डेलिभरी सेप्टेम्बर २०२६ देखि सुरु हुने कम्पनि जानकारी गराएको छ।