ईभीका लागि छुट्टै बीमा पोलिसीको तयारी

नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधन (ईभी) का लागि छुट्टै बीमालेख ल्याउने तयारी थालेको छ । प्राधिकरणले ईभीको बढ्दो प्रयोगलाई मध्येनजर गर्दै नयाँ बीमालेख ल्याउन आवश्यक  गृहकार्य सुरु गरेको हो ।

प्राधिकरणले ईभीका लागि विद्यमान मोटर बीमालेख परिमार्जन गर्ने विषयमा सुझाव लिन सुरु गरेको छ । यसैक्रममा, प्राधिकरणले ईभीको नयाँ बीमालेख ल्याउन सरोकारवाला निकायहरूसँग छलफल गरेको छ ।

प्राधिकरणले नेपाल अटोमोबाइल इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)  प्राधिकरणले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा), रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स, नेपाल सर्भेयर संघ र बीमक संघका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ।
प्राधिकरणले ईभीको बीमा, क्षति मूल्यांकन, जोखिम, मर्मत सम्भारका चुनौती र प्रविधिको माध्यमबाट बीमा पहुँच बढाउने वैकल्पिक वितरण प्रणालीका विषयमा छलफलमा गरेको हो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बजारमा ईभीको संख्या तीव्र रूपमा बढिरहेकाले परम्परागत बीमालेखको सट्टा छुट्टै ईभी बीमालेख ल्याउने विषयमा छलफल भइरहेको जानकारी गराए । उनले जोखिम विश्लेषणका लागि ईभीको आयात, बिक्री, क्षति र दाबी भुक्तानीको सही तथ्यांक राख्न सम्बद्ध सबै पक्षसँग आग्रह पनि गरे।

‘नेपालमा ईभीको बढ्दो प्रयोगलाई मध्येनजर गर्दै ईभीका लागि छुट्टै बीमा पोलिसी ल्याउने तयारी गरिएको हो । विद्यमान पोलिसी परिमार्जन गर्ने कि नयाँ पोलिसी ल्याउने भनेर सरोकारवालहरूसँग सुझाव लिएका छौं,’ उनले भने । सबैबाट सुझाव लिइसकेपछि ईभी बीमा पोलिसी निर्माण प्रक्रियालाई अघि बढाउने लामिछानेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *