नेपाल-चीन उत्तरी कोरलानाका हुँदै जेठ ७ गतेदेखि १५ गतेसम्मको एक सातामा चिनियाँ कम्पनी बिवाइडी (BYD) का ६१४ वटा विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार हिउँदयामपछि पहिलो चरणमा यी गाडीहरू भित्रिएका हुन् र अझै ठूलो सङ्ख्यामा ईभीहरू नेपाल आउने क्रम जारी रहेको छ।
भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका यी गाडीहरूमध्ये २०० भन्दा बढी जोमसोम आइपुगेका छन्, तर उपल्लो मुस्ताङ र जोमसोम क्षेत्रमा चार्जिङ स्टेसनको कमीले गर्दा केही ईभीहरू ‘होल्डिङ’ मा बस्नुपर्ने अवस्था छ।
गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यस कोरलानाकाबाट गत पुस मसान्तसम्म २ हजार ३२९ वटा ईभी नेपाल भित्रिइसकेका छन्।
यो नाका सञ्चालनमा आएसँगै वैशाखसम्म ५ अर्ब ७८ करोड ६ लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ भने सीमा क्षेत्रमा गाडी र कन्टेनर चलाउने स्थानीय युवाहरूले राम्रो रोजगारीको अवसर समेत पाएका छन्।