नेपालमा इलेक्ट्रिक स्कुटरको बिक्रीमा तीव्र वृद्धि

नेपालमा पछिल्लो समय इलेक्ट्रिक स्कुटरको बिक्री उल्लेखनीय रूपमा बढ्दै गएको छ।

विशेषगरी हालको अन्तर्राष्ट्रिय परिस्थितिले यसको माग अझ तीव्र बनाएको देखिन्छ।

मध्यपूर्वमा जारी युद्ध, पेट्रोलियम पदार्थको सम्भावित अभाव तथा लगातार भइरहेको पेट्रोलको मूल्यवृद्धिले नेपाली उपभोक्तालाई वैकल्पिक सवारीतर्फ आकर्षित गरिरहेको छ।

यसका कारण धेरैले अब पेट्रोल स्कुटरभन्दा इलेक्ट्रिक स्कुटर रोज्न थालेका छन्।

यद्यपि, केही महिनाअघिदेखि नै नेपालमा इलेक्ट्रिक स्कुटरको बजार विस्तार हुँदै आएको थियो।

वातावरणमैत्री प्रविधि, कम सञ्चालन खर्च र सरकारी नीतिगत सहुलियतका कारण बिस्तारै यसको लोकप्रियता बढ्दै गएको थियो।

तर पछिल्लो समय भने बजारमा अचानक उछाल देखिएको छ, जसले यो क्षेत्रको सम्भावनालाई अझ प्रस्ट बनाएको छ।

लुयान नेपालका सेल्स हेड शंकर शर्माका अनुसार, “पहिला हामीले ग्राहकलाई पेट्रोल र इलेक्ट्रिक स्कुटरबीचको फरक र यसको फाइदाबारे विस्तारमा बुझाउनुपर्ने अवस्था थियो।

तर अहिले ग्राहक आफैंले विश्लेषण गरेर, जानकारी लिएर शोरूममा आउने गरेका छन्।” उनका अनुसार, ग्राहकको सचेतना बढेसँगै बिक्री प्रक्रिया पनि सहज बन्दै गएको छ।

त्यसैगरी, केरेन स्कुटरकी सेल्स अफिसर अहिल्या ढकालले पनि बजारको यो परिवर्तनलाई सकारात्मक रूपमा लिएकी छन्।

“अहिले ग्राहकहरूले इलेक्ट्रिक स्कुटर पनि पेट्रोल स्कुटरजस्तै बलियो हुन्छ, राम्रो पिकअप दिन सक्छ भन्ने कुरा बुझिसकेका छन्।

यसले गर्दा बिक्री गर्न धेरै सजिलो भएको छ,” उनले भनिन्।

विशेषज्ञहरूका अनुसार, सञ्चालन खर्चमा ठूलो अन्तर हुनु पनि यसको मुख्य कारण हो।

पेट्रोल स्कुटरमा प्रति किलोमिटर लागत बढी पर्ने हुँदा दैनिक प्रयोगकर्ताका लागि इलेक्ट्रिक स्कुटर निकै सस्तो विकल्प बनेको छ।

साथै, चार्जिङ पूर्वाधारको विस्तार र नयाँ–नयाँ मोडलको आगमनले पनि बजारलाई थप गतिशील बनाएको छ।

तर, विज्ञहरूले उपभोक्तालाई इलेक्ट्रिक स्कुटर खरिद गर्दा केवल मूल्य मात्र हेर्ने होइन, उत्पादनको गुणस्तर, ब्याट्रीको क्षमता, वारेन्टी, र विशेषगरी after-sales service जस्ता पक्षहरू राम्रोसँग बुझेर मात्र निर्णय लिन सुझाव दिएका छन्।

सही ब्रान्ड र भरपर्दो सेवा रोजेमा मात्र दीर्घकालीन रूपमा यसको वास्तविक फाइदा लिन सकिने उनीहरूको भनाइ छ।

समग्रमा हेर्दा, बढ्दो इन्धन मूल्य, अन्तर्राष्ट्रिय अवस्था र उपभोक्ताको बढ्दो सचेतनाका कारण नेपालमा इलेक्ट्रिक स्कुटरको बजार आगामी दिनहरूमा अझ तीव्र रूपमा विस्तार हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *