नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्रका समस्या र सुधारका सुझाव प्रस्तुत गरेको छ।
भेटमा नाइमाले स्थिर र स्पष्ट नीति आवश्यक रहेको भन्दै अटोमोबाइललाई विलासिता होइन आवश्यकताको रूपमा हेर्नुपर्ने बताएको छ।
नाइमाले कर घटाउने, कर प्रणाली सरल बनाउने र सवारी खरिदमा ८०% कर्जा तथा २०% डाउन पेमेन्टको व्यवस्था कायम गर्न माग गरेको छ।
यसले सर्वसाधारणलाई सवारी किन्न सजिलो हुने बताइएको छ।
भन्सार जाँचपछि पनि फरक व्याख्याका कारण बेरुजु आउने समस्या रहेको भन्दै नाइमाले स्पष्ट र पारदर्शी प्रणाली आवश्यक रहेको जनाएको छ।
साथै भन्सार प्रक्रिया सुधार, डिजिटल प्रणाली, सडक सुरक्षा र ‘मेक इन नेपाल’ अन्तर्गत उद्योग प्रवर्द्धनमा जोड दिएको छ।
विद्युतीय सवारीका लागि स्थिर र प्रोत्साहनमुखी नीति आवश्यक रहेको नाइमाको भनाइ छ।
हाइब्रिड सवारीलाई पनि उचित वर्गीकरण गरी न्यायोचित नीति बनाउनुपर्ने उल्लेख गरिएको छ।
अर्थमन्त्री वाग्लेले नाइमाका सुझाव सान्दर्भिक रहेको बताउँदै सरकार निजी क्षेत्रमैत्री नीति बनाउन सकारात्मक रहेको बताए।
उहाँले यी सुझावलाई आगामी बजेट र नीतिमा समेट्ने प्रतिबद्धता जनाए।
यसै क्रममा नाइमाको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग पनि भेट गरी क्षेत्रका विषयमा छलफल गरेको छ।
मन्त्रीले अटोमोबाइल क्षेत्रको राजस्व र रोजगारीमा योगदानको प्रशंसा गर्दै सुधारका सुझाव कार्यान्वयन गर्ने आश्वासन दिएका छन्।
नाइमा अटोमोबाइल आयातकर्ता र उत्पादकहरूको प्रतिनिधि संस्था हो।
यसले उद्योग विकास, नीति सुधार र दिगो यातायात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।