खाडी क्षेत्रमा देखिएको तनावका कारण नेपालमा इन्धन अभाव हुने सम्भावना देखिएको भन्दै नेपाल आयल निगम ले उपभोक्तालाई इन्धनको खपत घटाउन आग्रह गरेको छ।
पश्चिम एसियामा बढ्दो संकटका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्ने र आपूर्तिमा असर पर्ने संकेत देखिएकाले यस्तो आग्रह गरिएको हो।
निगमका अनुसार अहिले नेपालमा इन्धन आपूर्ति सामान्य भए पनि विश्व बजारमा देखिएको प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना रहेको छ।
यसलाई ध्यानमा राख्दै उपभोक्तालाई आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ र ग्यास खरिद गर्न आग्रह गरिएको छ।
निगमले ग्यासको अनावश्यक भण्डारण नगर्न, धेरै सिलिन्डर भरेर नराख्न तथा सम्भव भएसम्म ग्यासको सट्टा बिजुली प्रयोग बढाउन सुझाव दिएको छ।
यसैगरी जेनेरेटर कम चलाउन र सम्भव भए राइड सेयरिङ प्रयोग गर्न पनि आग्रह गरिएको छ।
औद्योगिक क्षेत्रमा पनि पेट्रोलियम पदार्थ र ग्यासको प्रयोग घटाउन निगमले अनुरोध गरेको छ।
निगमले इन्धन भारतको Indian Oil Corporation बाट खरिद गरेर नेपालमा बिक्री गर्दै आएको छ।
खाडी क्षेत्रमा देखिएको तनावका कारण इन्धन आपूर्तिमा अवरोध हुन सक्ने भन्दै भारतले पनि बिक्री वितरणमा कडाइ गरेको जनाएको छ।
भारतमा ग्यास अभाव बढेपछि उपभोक्ताले २५ दिनपछि मात्र अर्को ग्यास सिलिन्डर बुक गर्न पाउने व्यवस्था गरिएको छ।
यस्तै, विश्वका कम्तीमा ८५ देशले पछिल्लो दुई सातामा इन्धनको मूल्य बढाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भारतबाट नयाँ मूल्य आए पनि नेपालमा भने चुनावको समय भएकाले मूल्य वृद्धि नगरी निगमले आफैं घाटा बेहोर्दै आएको छ।
नयाँ मूल्य लागू नगर्दा निगमले पछिल्लो १५ दिनमै करिब ५२ करोड रुपैयाँ घाटा व्यहोरेको जनाएको छ।
Post Views: 141