जिर्घा खोलामा पक्की पुल

सिन्धुलीको कमलामाई नगरपालिका–१२ स्थित जिर्घा खोलामा पक्की पुल निर्माण सुरु भएपछि स्थानीय बासिन्दालाई ठूलो सुविधा हुने भएको छ।

स्थानीय पूर्वाधार विकास आयोजना हेटौंडाको करिब ४ करोड ३३ लाख रुपैयाँ लागतमा डबल लेनको पुल बन्नेछ। पुल बनेपछि सिन्धुलीमाडीबाट दुई गाउँपालिकासम्म छोटो दूरीमै पुग्न सकिनेछ।

यसअघि सो ठाउँमा पुल नहुँदा बिरामीलाई अस्पताल लैजान र कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन निकै कठिनाइ हुँदै आएको थियो।

५० मिटर लामो सिंगल स्पान पक्की पुल निर्माण भएपछि क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो पुलले कमलामाई–१२ हुँदै तीनपाटन, गोलन्जोर र फिक्कल गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई सदरमुकामसम्म आउजाउ गर्न सहज बनाउनेछ।

पुल निर्माण २०८३ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कम्पनीले तोकिएको समयभन्दा अघि नै काम सक्ने प्रयास भइरहेको जनाएको छ।

स्थानीय बासिन्दाले पुल बनेपछि दैनिक आवतजावत र यातायात सेवा निकै सहज हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *