म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं–४ बाँसबोट जोड्ने ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ।
संघीय सरकारअन्तर्गत ससपेन्सन ब्रिज डिभिजन, काठमाडौंले म्याग्दी नदीमाथि यो पुल निर्माण थालेको हो। गत असारमा रामकृष्ण–सोमरस जेभीसँग १ करोड ६४ लाख १५ हजार २५४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
१८ महिनाको अवधि तोकिए पनि चालु आर्थिक वर्षभित्रै काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले बताएका छन्। गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार काम तीव्र गतिमा भइरहेको छ।
हाल काउसीबोटतर्फको संरचना अन्तिम चरणमा पुगेको छ भने बाँसबोटतर्फ फाउण्डेशन खनेर आधार तयार पारिएको छ। संरचना तयार भएपछि लठ्ठा तानेर स्टिल डेग जडान गरिनेछ।
पुल बनेपछि एक घण्टा लाग्ने यात्रा पाँच मिनेटमै छोटिने स्थानीय राजकुमार कोइरालाले बताए। साथै यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाँसबोटका किसानले उत्पादन गर्ने केरा बजारसम्म पुर्याउन सहज हुने विश्वास गरिएको छ।
धवलागिरि गाउँपालिकामा यसअघि पनि ३०० मिटरभन्दा लामो दुई वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। मराङखोलामा ३६५ मिटर र दरखोलामाथि ३६६ मिटर लामो पुल सञ्चालनमा छन्।
हाल म्याग्दी जिल्लामा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुलको संख्या ६ पुगेको छ। बेगखोला, बिमवाङ–रिख, रत्नेचौर–कुडुले र शिख–किन्दु क्षेत्रमा समेत यस्ता पुल निर्माण सम्पन्न भइसकेका छन्।
Post Views: 114