चिनियाँ प्रिमियम विद्युतीय कार ब्रान्ड अवतारको नयाँ मोडल अवतार ७ अब नेपाल आउने भएको छ। यसअघि नेपाली बजारमा अवतारको लक्जरी ईभी अवतार ११ आइसकेको थियो।
अवतार ११ ठूलो आकारको लक्जरी ईभी एसयूभी हो भने अब आउन लागेको अवतार ७ ‘अर्बान एसयूभी’ हो।
नेपालका लागि आधिकारिक विक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले अवतार ७ को अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार अवतार ७ (E15) मोडलको एमआरपी १ करोड १० लाख रुपैयाँ तोकिएको छ र आयात प्रक्रिया पनि सुरु भइसकेको छ। केही दिनमै यो कार नेपाल आइपुग्ने कम्पनीले जनाएको छ।
अवतार ७ मा १९० किलोवाट पिक पावरको मोटर छ। यसको लम्बाइ ४८२५ एमएम, चौडाइ १९८० एमएम, उचाइ १६२० एमएम र ह्वीलबेस २९४० एमएम छ। कार रेयर ह्वील ड्राइभ अप्सनमा आउनेछ।
यसमा ८२ किलोवाट-आवर LFP ब्याट्री छ, जसले एकपटक फुल चार्जमा ६५० किलोमिटर (CLTC) सम्म रेन्ज दिने दाबी गरिएको छ। साथै, ० देखि १०० किमी/घण्टा गति ६.३ सेकेन्डमै पुग्ने बताइएको छ।
अवतार ब्रान्ड नेपालमा चौधरी समूह र एमएडब्लू समूहले संयुक्त रूपमा भित्र्याएका हुन्। उनीहरूले २०८१ वैशाखमा अवतार टेक्नोलोजीसँग सम्झौता गरेका थिए।