बेनी नगरपालिकाका गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यभन्दा ५ महिना अगाडि नै सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन गरिएको यो योजनाको निर्माण अवधि १ वर्ष थियो।
गण्डकी प्रदेश सरकारले ३ करोड ५९ लाख ९८ हजार रुपैयाँ बजेट सुनिश्चित गरेको यो काम बीबीपीएल बीएसडीएस धवलागिरि कम्पनीले गरेको हो।
योजना २ करोड २३ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको थियो, जसको ठेक्का अवधि २०८३ असार १६ गतेसम्म थियो।
वडाध्यक्ष चक्र केसीका अनुसार पर्याप्त मजदुर, उपकरण, सामग्री व्यवस्थापन, साथै स्थानीयस्तरको सहजीकरण, निगरानी र कार्यालयबीचको समन्वयका कारण योजना समयअघि नै सकिएको हो।
उनले यस्तो सहकार्य भए विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गएको बताए।
यस योजनाअन्तर्गत गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानीसम्म ३०० मिटर ढलान, ११०० मिटर सडक फराकिलो, घुम्ती र ग्रेड सुधार, पर्खाल र नाली निर्माण गरिएको छ।
पहिले ४ मिटर चौडा सडकलाई अहिले ७ मिटर बनाइएको छ।
यो सडक सुधारले म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याएर बसाइ लम्ब्याउने र स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ।
बाँकी खण्ड स्तरोन्नतिका लागि प्रदेश सरकारसँग बजेट व्यवस्थापनको पहल भइरहेको पनि बताइएको छ।
Post Views: 46