सुरक्षित यातायातका सुझाव पेश

आम निर्वाचनको तयारीसँगै अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायातका विषयलाई प्राथमिकतामा राख्न राजनीतिक दलहरूलाई सुझाव–पत्र पेश गरिएको छ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी–नेपाल र स्वतन्त्रता अभियान नेपालसँगको सहकार्यमा प्रमुख राजनीतिक दलहरूलाई यो सुझाव–पत्र बुझाएको हो।

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा, राप्रपालगायत विभिन्न दलमा बुझाइएको सुझाव–पत्रमा सडक सुरक्षा, सुरक्षित सार्वजनिक यातायात, अटोमोबाइल नीति, स्वास्थ्य, उपभोक्ता र मानव अधिकारसँग सम्बन्धित महत्वपूर्ण विषय समेटिएका छन्।

साथै विश्वभर कार्यरत नेपाली विज्ञ, अभियन्ता र पीडित परिवारको धारणा पनि समावेश गरिएको छ।

सुझाव–पत्रमा सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सडक सुरक्षा ऐन तत्काल कार्यान्वयन, राष्ट्रिय सडक सुरक्षा परिषद् गठन, सुरक्षित र व्यवस्थित सार्वजनिक यातायात, गुणस्तरीय सवारी साधन, वैज्ञानिक ड्राइभिङ लाइसेन्स प्रणाली, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट, हेलमेटको अनिवार्य प्रयोग, तथा दुर्घटनापछिको उद्धार र उपचारमा राज्यको जिम्मेवारी सुनिश्चित गर्न माग गरिएको छ।

नेपाली कांग्रेसका प्रवक्ता देव राज चालिसे, रास्वपाका उपसभापति डी.पी. अर्याल, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) लगायत नेताहरूले यी विषयहरू आधुनिक र समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण रहेको भन्दै आफ्ना पार्टीको घोषणापत्र र नीति कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्।

सुझाव प्रस्तुतकर्ताहरूले सुरक्षित, दिगो र भयमुक्त यातायात प्रणाली विकास भए जनताको जीवन सुरक्षा, स्वास्थ्य सुधार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *