पूर्वी खण्डका पुल पूरा

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा पर्ने सबै पुलको निर्माण पूरा भएको छ।

यस खण्डमा निर्माण भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारी सञ्चालन भइसकेको आयोजनाले जनाएको छ।

पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अरुण खोला पुलको अन्तिम (आठौँ) स्पानको ढलान सम्पन्न भएसँगै यस खण्डका सबै पुल निर्माण सकिएका हुन्।

ठेक्का अनुसार २५ मिटरभन्दा छोटा २२ पुल र २५ मिटरभन्दा लामो १२ पुल गरी जम्मा ३४ पुल निर्माण गरिएको हो।

हालसम्म ३३ पुल सञ्चालनमा आइसकेका छन् भने बाँकी अरुण खोला पुल पनि फागुन २१ गतेको निर्वाचनअघि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

पुलको फिनिसिङ र पहुँच मार्ग (एप्रोच रोड) निर्माणलाई तीव्र बनाइएको छ। साथै, पूर्वी खण्डमा सडक विस्तारको काम पनि द्रुत गतिमा अघि बढिरहेको छ।

दाउन्ने क्षेत्रमा भौगोलिक जटिलताका कारण केही कल्भर्ट निर्माण बाँकी रहेकाले काम अन्तिम चरणमा छ।

नारायणघाटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटरमध्ये दाउन्नेबाहेकका प्रायः सबै स्थानमा कालोपत्र भइसकेको छ। दाउन्नेमा भने पहाड काट्ने र सडक ढलान गर्ने काम भइरहेकोले केही ढिलाइ भएको हो।

हालसम्म पूर्वी खण्डको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। अधिकांश ठाउँमा दुईतर्फी कालोपत्र सकिएकाले यात्रा सहज बनेको छ भने दाउन्ने क्षेत्रमा अझै ढलान र संरचनागत काम जारी छ। यस खण्डमा २१५ वटा कल्भर्ट निर्माण हुनेछन्।

११४ किलोमिटर लामो नारायणघाट–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी एउटै चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ।

सुरुमा ४२ महिनामा सक्ने सम्झौता भए पनि काम ढिला भएपछि म्याद चारपटक थप गरिएको छ र अब आगामी साउन ८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको यस आयोजनामा अधिकांश लगानी ऋण सहयोगबाट भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *