नागढुंगा–मलेखु सडक ढिलाइ

पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मलेखु सडकको काम सम्झौताअनुसार अघि बढ्न नसक्दा अझै पूरा हुन सकेको छैन।

तीन वर्षभित्र सक्ने सम्झौता भए पनि हालसम्म करिब ३७.५ प्रतिशत मात्र काम सम्पन्न भएपछि आयोजनाको म्याद ६ महिना थप गरिएको छ।

यो सडक २०७९ पुस १५ गते तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको थियो। मुग्लिन–नागढुंगा खण्डलाई तीन चरणमा विभाजन गरिएकोमा तेस्रो चरणको म्याद सकिएपछि थप समय दिइएको हो।

आयोजनाका अनुसार डिजाइनमा तथ्याङ्क त्रुटि, नक्साङ्कन फरक पर्नु, सडक क्षेत्र खाली हुन ढिलाइ, रुख र खम्बा समयमै नसारिनु, निर्माण सामग्री अभाव र सवारी चापजस्ता कारणले काम ढिला भएको हो।

हाल नौ किलोमिटरभन्दा बढी सडकमा कालोपत्र भइसकेको छ र केही स्थानमा कालोपत्रको तयारी तथा अन्य संरचनागत काम भइरहेको छ।

दैनिक करिब १५० मजदुर परिचालन गरेर बाँकी कामलाई तीव्र बनाउने प्रयास भइरहेको आयोजनाले जनाएको छ।

यो खण्डको कुल लम्बाइ करिब ३८.८६ किलोमिटर छ, जसमा केही भाग छ लेन, चार लेन र उकालो–ओरालो क्षेत्रमा ‘क्लाइम्बिङ लेन’ बनाइनेछ।

करिब ४ अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो सडक विश्व बैंकको सहयोगमा स्तरोन्नति हुँदैछ र काठमाडौँ प्रवेश–निकासको मुख्य मार्ग भएकाले यसको महत्त्व धेरै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *