नेपाल सरकारको रूपान्तरणकारी गौरव आयोजनाअन्तर्गत निर्माण भइरहेको कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नति आयोजना सुरु भएको पाँच वर्ष बित्दा पनि ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
एसियाली विकास बैंक (ADB) को मुख्य लगानीमा निर्माण हुँदै आएको ८६.८३ किलोमिटर लामो यो सडक पटक–पटक म्याद थपिँदा पनि अझै सम्पन्न हुन सकेको छैन।
सन् २०२० जुनमा चाइना रेलवे नम्बर–२ इञ्जिनियरिङ ग्रुप सँग सम्झौता भएको यस आयोजना अनुसार सडक २०२३ अक्टोबर २८ भित्रै सकिनुपर्ने थियो।
तर, साइट क्लियरेन्सको समस्या र कोरोना महामारीको कारण देखाउँदै पहिलो पटक १४ महिना, दोस्रो पटक १२ महिना म्याद थपियो।
हालै फेरि आगामी जुनसम्मका लागि तेस्रो पटक ६ महिना म्याद थपिएको छ।
करिब १६ अर्ब ८ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना पूर्वी र पश्चिमी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ।
पूर्वी खण्ड (कञ्चनपुर–कुसहा) मा हालसम्म ६७ प्रतिशत प्रगति भएको छ।
यहाँ २४ किलोमिटर सडक चार लेनमा कालोपत्र भइसकेको छ भने ११३ कल्भर्ट र २० पुल सञ्चालनमा आएका छन्।
तर, कञ्चनपुर, महुली, रुपनी, कल्याणपुर जस्ता बजार क्षेत्रमा स्थानीय अवरोध र दबाबका कारण छ लेनको काम ढिलो भएको छ।
पश्चिमी खण्ड (कुसहा–कमला) मा करिब ३० किलोमिटर चार लेन सडक निर्माण भइसकेको छ।
११२ कल्भर्ट र २५ पुलमध्ये केही सञ्चालनमा आएका छन्। तर, गोलबजार क्षेत्रमा डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कामले गति लिन सकेको छैन।
लहान र मिर्चैयामा ओभरपास निर्माणका लागि फाउण्डेसनको काम भइरहेको छ भने कमजोर माटो भएका ठाउँमा विशेष प्रविधि प्रयोग गरिएको छ।
सडक निर्माणमा भएको ढिलाइका कारण लहान र मिर्चैया जस्ता मुख्य बजार क्षेत्रमा धुलो, धुँवा र दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ।
साँघुरा डाइभर्सन, अपूरा फिनिसिङ र अव्यवस्थित सडकका कारण यात्रुहरू दैनिक सास्ती भोगिरहेका छन्।
यस आयोजनामा ADB को ७१.२२ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी रहेको छ।
पुल, कल्भर्ट, ओभरपास तथा अन्य संरचनाका अन्तिम काम बाँकी रहेकाले आयोजना अझै पूर्ण हुन समय लाग्ने देखिएको छ।
Post Views: 134