Skip to content
जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा रहेको चिसापानी बजारका सडक ढलानको काम तीव्र गतिमा अघि बढाइएको छ।
जिल्लाको दक्षिणी भेगको पुरानो र मुख्य बजार मानिने चिसापानीमा सडक ढलान सुरु भएपछि स्थानीयवासीमा उत्साह देखिएको छ।
गाउँपालिकाको केन्द्र क्षेत्रभित्रका सडक ढलानका लागि दुई वटा छुट्टाछुट्टै योजना बनाएर ठेक्का प्रणालीमार्फत काम थालिएको छ।
गाउँपालिकाका प्रमुख इन्जिनियर रमेशकुमार यादवका अनुसार हालसम्म करिब ४० प्रतिशत भौतिक प्रगति भइसकेको छ।
चिसापानी बजार क्षेत्र ढलानका लागि भ्याटसहित १ करोड ४ लाख ४२ हजार रुपैयाँभन्दा बढी लागतमा वियान्सा अग्रिम जेभी ले ठेक्का लिएको छ।
यस्तै, गाउँपालिकाको कार्यालयतर्फ जाने सडक ढलानका लागि ५९ लाख १३ हजार रुपैयाँभन्दा बढी लागतमा जेमपिया हिल्स कन्सट्रक्सन प्रालि ले काम गरिरहेको छ।
बजार क्षेत्रको ढलान २०८२ चैत ३० भित्र र गाउँपालिका जाने सडक २०८२ चैत १५ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ।
काम तीव्र गतिमा भइरहेकाले सम्झौता मितिभित्रै सम्पन्न हुने गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राई ले विश्वास व्यक्त गरिन्।
उनका अनुसार, पहिले सडक ढलान नहुँदा बजार क्षेत्रमा धुलो, हिलो र साँघुरोपनको समस्या थियो।
अहिले गुणस्तरमा ध्यान दिँदै समयमै काम सम्पन्न गराउन निर्माण व्यवसायीलाई निरन्तर निगरानी गरिएको छ।
ढलान सम्पन्न भएपछि चिसापानी बजार सफा, व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरिएको छ।
यस क्रममा ढलानमा प्रयोग भएको सामग्रीको गुणस्तरलाई लिएर केही समयअघि स्थानीय र निर्माण कम्पनीबीच विवाद समेत भएको थियो।
विवादका कारण काम केही दिन रोकिए पनि सर्वपक्षीय छलफलपछि सहमति जुटाएर पुनः काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
बीपी चोकलाई केन्द्र मानेर चिसापानी माध्यमिक विद्यालय, गाउँपालिका कार्यालय र बसपार्क जाने तीनवटा सडक ढलान भइरहेको छ।
दुवैतर्फ नाली निर्माण गरी कम्तीमा चार मिटर चौडाइमा सडक ढलान गरिने योजना रहेको छ।
सबै काम सम्पन्न भएपछि चिसापानी बजारभित्रका सडकहरू पूर्ण रूपमा ढलान हुने गाउँपालिकाले जनाएको छ।
संघीय सरकारसँगको लागत साझेदारीमा गत वर्षदेखि सुरु भएको यस योजनाअन्तर्गत अघिल्लो वर्ष ११५ मिटर सडक ढलान सम्पन्न भइसकेको थियो।
ढिलै भए पनि बजार ढलान हुन थालेपछि स्थानीयवासी खुशी भएका छन्।
Post Views: 138