पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने पर्वत खण्डको सडक मर्मत कार्य सुरु गरिएको छ।
पोखरालाई गण्डकी प्रदेशका अन्य जिल्लासँग जोड्ने यो मुख्य सडक लामो समयदेखि बिग्रिएपछि यात्रु र सवारी चालकले निकै सास्ती भोग्दै आएका थिए।
सडक डिभिजन कार्यालय पोखराका अनुसार कास्की–पर्वत सिमानाको नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म सडक मर्मत र कालोपत्रको काम भइरहेको छ।
पहिलो चरणमा पोखरातर्फका भत्किएका सडक र खाल्डाखुल्डी पुरेर कालोपत्र गरिएको थियो भने अहिले पर्वत खण्डमा मर्मत कार्य अघि बढाइएको सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिए।
बर्खायाममा सडक धेरै ठाउँमा भासिनु र खाल्डाखुल्डी पर्नुका कारण यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो।
ती समस्याग्रस्त स्थानहरूमा अहिले टालटुल, कालोपत्र र मर्मतसम्भार को काम भइरहेको छ।
यस कार्यका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ र शिवालय निर्माण सेवा मार्फत काम भइरहेको जनाइएको छ।
बर्खा सकिएलगत्तै मर्मत गर्ने योजना भए पनि चाडपर्व र निरन्तर वर्षाका कारण काम ढिलो सुरु भएको कार्यालयले जनाएको छ।
यद्यपि अहिले जाडोयाममै भए पनि काम तीव्र गतिमा भइरहेको छ।
सडक धेरै ठाउँमा बिग्रिएकाले बजेट अपुग हुन सक्ने देखिएको कार्यालयको भनाइ छ।
यो सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्व लगायतका जिल्लाबाट दैनिक सयौँ सवारी साधन पोखरा, काठमाडौं र नारायणगढतर्फ आवतजावत गर्छन्।
सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको थियो।
हाल नयाँपुलबाट कुश्मा नगरपालिका–८ पराधिसम्म मर्मत पुगेको र अब एक महिनाभित्र मालढुङ्गासम्म काम सकिने कार्यालयले जनाएको छ।
मर्मत सम्पन्न भएका ठाउँमा धुलो र हिलोको समस्या हटेको चालकहरूले बताएका छन्।