नागढुंगा सुरुङ लागत बढ्यो

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना सुरुमा करिब २२ अर्ब रुपैयाँ लागतमा अघि बढाइएको भए पनि अब कुल खर्च साढे २७ अर्ब रुपैयाँ नाघ्ने देखिएको छ।

जापान सरकारको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको आयोजनाका लागि थप साढे ५ अर्ब रुपैयाँ ऋण लिने तयारी गरिएको छ।

डिजाइन परिवर्तन, निर्माण क्रममा थप संरचना, बारम्बार अवरोध, परामर्श सेवामा बढेको खर्च र निर्माण कम्पनीले माग गरेको क्षतिपूर्तिका कारण आयोजना लागत बढेको सडक विभागले जनाएको छ।

थप ऋण जापान सरकारबाटै लिने तयारी भए पनि औपचारिक सम्झौता भने अझै भएको छैन।

२०७६ कात्तिकमा शिलान्यास गरिएको आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य थियो।

तर कोरोना महामारी, स्थानीय अवरोध र डिजाइन परिवर्तनले काम ढिलाइ हुँदै आएको छ।

कतिपय समयमा स्थानीय आन्दोलनका कारण एक महिनासम्म निर्माण कार्य रोकिएको थियो।

म्याद थप गर्दै आयोजना २०८२ असोजभित्र सक्ने लक्ष्य राखिएको थियो तर त्यो पनि सम्भव नभएपछि समय २०८३ वैशाखसम्म बढाइएको छ।

२.५ किलोमिटर लामो मुख्य सुरुङ २०८१ वैशाखमा छिचोलिए पनि अझै सञ्चालनमा आउन सकेको छैन।

सुरुङमार्ग सञ्चालनका लागि दुईपटक अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिएको छ।

पहिलो टेन्डर प्रक्रिया पूरा नभएपछि संशोधनसहित दोस्रोपटक बोलपत्र माग गरिएको हो।

साथै धादिङतर्फको पश्चिम पोर्टलमा पहिरो व्यवस्थापन र दुवै पोर्टलमा टोल प्लाजा निर्माणको काम पनि तीव्र बनाइएको आयोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *