Skip to content
अत्यधिक चिसो बढेपछि हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका सबैजसो काम रोकिएका छन्।
हिउँदयाम सुरु भएसँगै पाँचवटै स्थानीय तहमा सञ्चालनमा रहेका सडक, पुल र अन्य पूर्वाधार निर्माण योजना प्रभावित भएका हुन्।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण अत्यधिक चिसोका कारण स्थगित गरिएको आयोजनाले जनाएको छ।
चिसोका कारण निर्माण उपकरण चलाउन नसकिने र कामदारलाई पनि समस्या हुने भएकाले पुसअगावै अधिकांश काम रोकिएको हो।
कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्डको करिब ९.८ किलोमिटर कालोपत्रे सडक र घमी खोला पुल निर्माणको काम पनि चिसोका कारण रोकिएको छ।
पुलको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको भए पनि बाँकी काम चिसो कम भएपछि मात्रै अघि बढाइने बताइएको छ।
यसैगरी थासाङ, घरपझोङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालनमा रहेका सडक, पुल र अन्य पूर्वाधार योजना पूर्ण रूपमा ठप्प बनेका छन्।
अत्यधिक चिसोका कारण संघीय, प्रादेशिक तथा स्थानीय तहका दर्जनौँ योजना प्रभावित भएका छन्।
माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १० डिग्रीसम्म झरेको छ।
चिसोका कारण अधिकांश सरकारी कार्यालयका कर्मचारी जिल्लाबाट बाहिरिए पनि सुरक्षाकर्मी भने कार्यस्थलमै रहेर सेवा दिइरहेका छन्।
Post Views: 148