बेनी नगरपालिका–९ घतानस्थित वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएपछि स्थानीयको यात्रा सहज भएको छ।
जीर्ण सडकका कारण जोखिम मोलेर हिँड्नुपर्ने समस्या हट्नुका साथै यात्रा समय पनि उल्लेख्य रूपमा घटेको छ।
बेनी–पाखापानी सडक योजनाअन्तर्गत भुतादैला–नेप्टेचौर खण्डमा दुई किलोमिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएको हो।
हाल सडकमा रङ लगाउने, डिलतर्फ बार राख्ने र ट्राफिक संकेत चिह्न जडान गर्ने काम भइरहेको छ।
२०५६ सालमा खोलिएको यो सडक २७ वर्षपछि कालोपत्र भएको हो।
स्थानीयका अनुसार पहिले नेप्टेचौरदेखि बेनी पुग्न करिब एक घण्टा लाग्ने गरेकोमा अहिले १५ मिनेटमै यात्रा पूरा हुने भएको छ।
धुलो, हिलो र दुर्घटनाको जोखिम कम भएपछि दैनिक आवतजावत निकै सहज बनेको छ।
यस योजनाका लागि २०८१ जेठमा १० करोड १६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
हाल करिब ८० प्रतिशत भौतिक प्रगति भइसकेको छ। तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ भने अन्य खण्डमा पर्खाल, नाली, ढलान र ग्राभेलको काम अघि बढिरहेको छ।
बेनी–पाखापानी सडकलाई म्याग्दी जिल्लाको प्राथमिकताप्राप्त आयोजना मानिएको छ।
यो सडक पूरा भएपछि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका विभिन्न बस्तीहरू सदरमुकामसँग थप मजबुत रूपमा जोडिने अपेक्षा गरिएको छ।