संरचना नहट्दा सडक ढिलाइ

सडकको अधिकार क्षेत्रभित्र रहेका अवैध संरचना, विद्युतका खम्बा र खानेपानीका पाइप समयमै नहटाइँदा पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको छ।

सम्बन्धित निकायको ढिलाइले निर्माणको गति सुस्त बनेको आयोजना कार्यालयले जनाएको छ।

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा अझै ५२ वटा विद्युतका खम्बा सार्न बाँकी छन्, जसमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रका ४२ खम्बा पनि पर्छन्।

विद्युत् तार भूमिगत गरिए पनि खम्बा नहटेकाले सडक निर्माणमा अवरोध भइरहेको छ।

सडक क्षेत्रभित्र पर्ने खानेपानीका पाइप स्थानान्तरणको काम पनि सुस्त छ।

साथै रुख कटान भइसकेका स्थानमा काठ लिलामी हुन नसक्दा थप समस्या देखिएको छ।

पोखरा महानगरपालिका–१० सेती पुल आसपास मापदण्डविपरीतका केही घर अझै हटाउन बाँकी छन्।

महानगरपालिकाले तीन वर्षअघि अवैध संरचना हटाउने अभियान सुरु गरे पनि सबै संरचना नहट्दा सडक निर्माणमा बाधा पुगेको आयोजनाको भनाइ छ।

सडकको अधिकार क्षेत्रमा पर्ने घरटहरा हटाउँदा क्षतिपूर्ति दिने व्यवस्था गरिएको जनाइएको छ।

चालु आर्थिक वर्षभित्र पश्चिम खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाले अवैध संरचना, विद्युत खम्बा, खानेपानी पाइप र अन्य अवरोध चाँडो हटाउन सम्बन्धित निकायलाई ताकेता गरिएको छ।

हालसम्म यस खण्डमा करिब ७४ प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ।

जामुनेदेखि पोखराको सेती पुलसम्मको सडक छ लेन र चार लेनमा विस्तार हुँदैछ।

अधिकांश कालोपत्र, नाली, कल्भर्ट र पुल निर्माणको काम सकिएको छ भने बाँकी काम तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *