सवारी दुर्घटना बढ्दै गएको अवस्थालाई न्यूनीकरण गर्न सचेतना फैलाउने उद्देश्यले नेपालगन्जमा स्लो बाइक प्रतियोगिता आयोजना हुने भएको छ।
बास नेपालले विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको यस प्रतियोगिताको छैटौं संस्करण कार्तिक २७ गते नेपालगन्जमा हुने तय भएको हो।
ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा आयोजना हुने प्रतियोगिता नेपालगन्जको न्यूरोड क्षेत्रमा सञ्चालन हुनेछ।
प्रतियोगितामा १०० मिटर दूरी सबैभन्दा कम गतिमा, अर्थात् सबैभन्दा धेरै समय लगाएर पूरा गर्ने सहभागीलाई विजेता घोषणा गरिनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस कार्यक्रमको मुख्य उद्देश्य ट्राफिक नियमको पालना गर्दै सवारी साधन सीमित गतिमा चलाउन प्रेरित गर्नु र दुर्घटनाबाट जोगिन सकिने सन्देश आम नागरिकमा फैलाउनु हो।
विशेषगरी युवा पुस्ता तीव्र गतिमा सवारी चलाउँदा हुने दुर्घटनाप्रति सचेत गराउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले अनलाइन वा कार्यालयमै पुगेर नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
बास नेपालले सबैलाई सहभागिता जनाई सवारी दुर्घटना न्यूनीकरणको अभियानमा एकजुट हुन आग्रह गरेको छ।
प्रतियोगिता कार्तिक २७ गते आइतबार दिउँसो १ बजेबाट सुरु हुनेछ।