दुई महिनामा ९ हजार लाइसेन्स

पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रबाट पछिल्लो दुई महिनामा क्यूआर कोडसहित करिब ९ हजार सवारी चालक अनुमतिपत्र छापिएको छ।

कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु भएयता ८ हजार ९८३ थान लाइसेन्स तयार भएको यातायात व्यवस्था विभागले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा विभागको मास प्रिन्टर तोडफोड भएपछि रोकिएको लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रबाट पुनः सुरु गरिएको हो।

कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीले छपाइको औपचारिक शुभारम्भ गरेका थिए।

केन्द्र र विभागबीच कात्तिक १२ गते भएको सम्झौताअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनुपर्नेछ।

हाल छापिएका करिब ९ हजारमध्ये ७ हजार लाइसेन्स वितरण भइसकेका छन्।

विभागका अनुसार अहिले अत्यावश्यक लाइसेन्स मात्र छापिएको हो भने अब साधारण लाइसेन्स पनि छाप्ने तयारी भइरहेको छ। एकैपटक १ लाखको डाटा पठाइने योजना छ।

केन्द्रले माघ महिनादेखि छपाइको गति बढाउँदै दैनिक करिब १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी गरेको जनाएको छ।

प्रारम्भिक चरण परीक्षणकाल भएकाले सुरुवातमा छपाइ सुस्त भएको बताइएको छ।

नयाँ लाइसेन्समा चिपको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ, जसमा बहुस्तरीय सुरक्षा प्रणाली रहनेछ।

केन्द्रले भविष्यमा हुलाक टिकट, नागरिकता, लालपुर्जा, भिसा र अन्तःशुल्क स्टिकर समेत छाप्ने योजना बनाएको छ।

सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणका कारण विदेशिने ठूलो रकम जोगिने अपेक्षा गरिएको छ।

सरकारले यस क्षेत्रलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउँदै क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा सेवा विस्तार गर्ने रणनीति लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *