धादिङ अटोमोबाइल एशोसियसन धादिङले जिल्लाका विभिन्न स्थानमा रहेका वर्कशपहरूलाई लक्षित गर्दै अग्नि नियन्त्रक यन्त्र वितरण गरेको छ।
वर्कशपहरूमा आगलागीसम्बन्धी घटनाहरू बढ्दै गएको सन्दर्भमा संस्थाले पूर्वसतर्कता अपनाउने उद्देश्यसहित विशेष कार्यक्रम आयोजना गरी यन्त्र वितरण गरेको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा नेपाल अटोमेकानिक्स व्यवसायी महासङ्घका महासचिव इन्द्रकुमार त्रिपाठीले दुर्घटना भइसकेपछि पछुताउनु भन्दा अगावै सुरक्षा उपाय अपनाउनु आवश्यक रहेको बताए।
उनले सदस्यहरूको घरदैलोमै पुगेर सुलभ मूल्यमा अग्नि नियन्त्रक यन्त्र वितरण गरिएको जानकारी दिए।
अध्यक्ष त्रिपाठीका अनुसार यस पहलले कार्यस्थलमा हुने व्यवसायजन्य सुरक्षाको जोखिम केही हदसम्म भए पनि कम गर्ने अपेक्षा गरिएको छ।
संस्थाले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा सुरक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा नेपाल अटोमेकानिक्स व्यवसायी महासङ्घका केन्द्रीय सदस्य शंकर थापा र रविन रेग्मी, धादिङ अटोमोबाइल एशोसियसनका महासचिव लालबहादुर श्रेष्ठ, सचिव रवि रेग्मी तथा सदस्यहरू रविशंकर शाह र नारायणप्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो।