लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा

अब पेट्रोल स्कुटरझैँ इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकताकै भरमा फाइनान्स सुविधा पाइने भएको छ। यस्तो सुविधा लुयान नेपालले सुरु गरेको हो।

विशेषगरी राजधानीमा बस्ने ग्राहकलाई लक्षित गर्दै ल्याइएको यस योजनाअनुसार ग्राहकले आफ्नै नागरिकता र एक जना ग्यारेन्टरको नागरिकताको आधारमा सजिलै फाइनान्स पाउनेछन्।

सामान्यतया फाइनान्स लिन प्रशस्त आम्दानी देखिने कागजात, स्थानीय ग्यारेन्टर, बिजुली वा पानीको बिल, सरकारी वा ठूला कम्पनीमा जागिर जस्ता झन्झटिला प्रक्रिया आवश्यक पर्थे। अब भने यी धेरै कागजातको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ।

नेपालको जुनसुकै जिल्लाका भए पनि राजधानीमा बसेर औपचारिक वा अनौपचारिक व्यवसाय गरिरहेका व्यक्ति तथा राइड सेयरिङ गर्ने युवाहरूले पनि यो सुविधा सजिलै लिन सक्नेछन्।

कम्पनीका सेल्स हेड शंकर शर्माका अनुसार स्कुटरको मूल्यको अधिकतम ५० प्रतिशतसम्म फाइनान्स पाइनेछ र यसलाई १८ महिनासम्म सहज किस्तामा तिर्न मिल्ने व्यवस्था गरिएको छ।

यो योजनाबाट विशेषगरी काठमाडौंमा बसेर राइड सेयरिङ गर्ने युवाहरूलाई धेरै फाइदा पुग्ने अपेक्षा गरिएको छ। हालका लागि यो सुविधा काठमाडौंमा मात्र उपलब्ध भए पनि निकट भविष्यमा पोखरा र इटहरीमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

लुयान नेपालले पछिल्ला ७ वर्षदेखि नेपालमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री गर्दै आएको छ। कम्पनीले लुयान, सारथी, इकुटर, जिडाओ र काइसाई ब्रान्डका स्कुटरमा यो सुविधा उपलब्ध गराउने बताएको छ।

कम्पनीले हाल १ लाख ४० हजारदेखि करिब २ लाख ५० हजार रुपैयाँसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। साथै १ लाख १० हजार रुपैयाँमै लाइसेन्स नचाहिने इलेक्ट्रिक स्कुटर पनि उपलब्ध रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *