नाडालाई सम्मान, उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा–पत्र

नेपाल सरकारअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले अटोमोबाइल क्षेत्रको सीप विकासमा योगदान पुर्‍याएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाललाई सम्मान गरेको छ।

सीपमूलक तालिम, पाठ्यक्रम निर्माण र मानव संसाधन विकासमा नाडाको भूमिका प्रभावकारी रहेको भन्दै यो सम्मान प्रदान गरिएको हो।

अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम तयार पार्ने र कार्यान्वयन गर्ने प्रक्रियामा संयोजकको रूपमा उल्लेखनीय नेतृत्व दिएको योगदानको कदर गर्दै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा–पत्र प्रदान गरिएको छ।

यो सम्मान राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो।

नाडाको सहकार्यमा श्रम बजारको आवश्यकता अनुसार तयार गरिएका एसेम्बलर अपरेटर र विद्युतीय सवारी मर्मत प्राविधिकजस्ता ट्रेड–आधारित तालिमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ।

नाडाले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग मिलेर अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *