१५ वर्षे कर्मचारी सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापना भएको १९ वर्ष पूरा भएको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवा गर्दै आएका १७५ जना कर्मचारीलाई सम्मान गरेको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा कर्मचारीहरूलाई खादा र सम्मानपत्र प्रदान गरिएको हो।

समारोहमा अध्यक्ष ढकालसहित सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा कर्मचारीलाई सम्मान गरे।

अध्यक्ष ढकालले बैंकको मर्जर, व्यवसाय विस्तार र सेवा गुणस्तर वृद्धिसँगै प्रविधिमैत्री र प्रभावकारी सेवा विकासमा ध्यान केन्द्रित गरिएको बताए।

उनले १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले १९ वर्षमै अधिकांश वित्तीय सूचकमा आफूलाई अग्रणी बनाएको उल्लेख गर्दै संस्थाको सफलतामा नेतृत्वसँगै सम्पूर्ण कर्मचारीको मेहनत, सहकार्य र लगनशीलताको ठूलो भूमिका रहेको बताए।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकले डिजिटल युगअनुसार नवीन र ग्राहकमैत्री सेवा विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।

यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले आगामी दिनमा ग्राहक सन्तुष्टि र सेवा गुणस्तरमा अझ बढी ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट उत्कृष्ट बैंक, बेस्ट बैंक, बेस्ट इन्टरनेट बैंक, युरोमनी अवार्ड फर एक्सलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा बैंकले देश–विदेशमा फैलिएको सेवामार्फत ग्राहकलाई बैंकिङ र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *