गुणस्तरहीन ढलान भत्काइयो

धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरी पीसीसी ढलान गरिएको पाइएको छ।

दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत ह्युम पाइप अडाउन पर्खालको जग ढलानमा गुणस्तरहीन सामग्री प्रयोग भएको उजुरीपछि अनुगमन गरिएको थियो।

अनुगमनमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगर सहभागी थिए।

टोलीले ढलान मापदण्डअनुसार नभएको ठहर गर्दै तत्कालै भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिएको हो।

स्थानीयवासीले सामग्रीको गुणस्तरमा शंका जनाउँदा बेवास्ता भएपछि भिडियोमार्फत सार्वजनिक गरेका थिए।

त्यसपछि प्राविधिक टोली पुगेर जाँच गर्दा ग्राभेलका लागि तयार पारिएको बेस नै पीसीसीमा मिसाइएको भेटिएको थियो।

निर्माण कम्पनीका प्रतिनिधिले मजदुरको लापरबाहीका कारण कमजोरी भएको स्वीकार गर्दै सुधार गरिएको र अब मापदण्डमा कडाइ गर्ने प्रतिबद्धता जनाएका छन्।

प्राविधिकले पनि लिखित निर्देशन हुँदाहुँदै कमजोरी देखिनु ठेकेदारकै गल्ती भएको बताएका छन्।

यो सडक म्याग्दीको रणनीतिक र प्राथमिकतामा रहेको आयोजना हो। हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ।

सडक फराकिलो बनाउने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *