जेनजी प्रदर्शनका सवारी साधनलाई कर छुट

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा जेनजी प्रदर्शनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त भएका सवारी साधनलाई कर, दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ।

उक्त निर्णय प्रदेश राजपत्रमार्फत सार्वजनिक गरिएको हो।

प्रदेश सचिव झलकराम अधिकारीको हस्ताक्षर रहेको सूचनाअनुसार प्रदर्शनका क्रममा क्षति भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ।

साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास तथा बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट प्रदान गरिनेछ।

यस अघि नेपाल ट्रक व्यवसायी महासंघले बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग भेट गरी सवारी साधन कर र दस्तुरमा छुट दिनुपर्ने सुझाव पेश गरेको थियो।

सोही पहलका आधारमा प्रदेश मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकले छुट दिने निर्णय गरेको थियो, जुन पुस २१ गते राजपत्रमार्फत सार्वजनिक गरिएको हो।

नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले प्रदेश सरकारको निर्णयप्रति आभार व्यक्त गर्दै यसले सवारी व्यवसायीहरूलाई ठूलो राहत पुगेको बताए।

उनले आगामी दिनमा पनि यस्ता राहतका कार्यक्रम निरन्तर जारी रहने अपेक्षा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *