बजेटले रोकिएका सडक

बजेट अभावका कारण ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत बागलुङमा निर्माण भइरहेका दुई प्रमुख सडकको काम अलपत्र परेको छ।

निर्वाचन क्षेत्र नं १ को अदालत चौपारी–सिगाना–बरेङ सडक र क्षेत्र नं २ को हरिचौर–मल्म–पाण्डवखानी सडक लामो समयदेखि अधुरै छन्।

अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक सिगानाको वडा कार्यालयसम्म मात्र बनेको छ।

निर्माण कम्पनीले भुक्तानी नपाएपछि काम रोकिएको थियो। करिब डेढ वर्षपछि गत वर्ष बजार क्षेत्रसम्मको काम पूरा भए पनि वडा कार्यालयदेखि अगाडिको खण्डका लागि अझै ठेक्का नै लगाइएको छैन।

बजेट नहुँदा सरकारले योजना कहिले पूरा हुन्छ भन्ने स्पष्ट गर्न सकेको छैन।

त्यसैगरी हरिचौर–मल्म–पाण्डवखानी सडकको पहिलो चरणको काम पनि समयमा सकिएको छैन। सुरुमा २५ प्रतिशत मात्र काम भएको थियो।

पछि म्याद थप र भुक्तानीको प्रतिबद्धतापछि ठेकेदारले काम सुरु गर्दै हाल करिब ७० प्रतिशत भौतिक प्रगति गरेको जनाएको छ।

अप्ठ्यारो ठाउँमा ढलान र सहज खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ।

यसअघि साढे तीन करोड रुपैयाँ भुक्तानी नपाउँदा ठेकेदारले काम छाडेका थिए।

विसं २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का लागेको यो सडक आगामी वैशाखसम्म सक्ने लक्ष्य राखिएको छ।

कुश्मीसेरा–बरेङ सडकमा पनि बजेट अभावकै कारण समस्या आएको थियो।

स्थानीयको दबाबपछि बजेट सुनिश्चित भएपछि अहिले नाम्दुकदेखि बरेङसम्म कालोपत्र सम्पन्न भएको छ र बाँकी खण्डमा कामको तयारी भइरहेको छ।

यस्तै, तमानखोलाको बोङगादोभान–सोलेडाँडा सडक भने अझै बजेट नपाएर सुरु हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *