म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत गोरेटो बाटोमा झाडी पन्छाएर हिँड्नुपर्ने समस्या हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ।
रानीपौवादेखि घोरेढुंगा हुँदै चमेरे आर्यघाट पुग्ने जंगलभित्रको साँघुरो र भिरालो बाटोलाई सुरक्षित बनाउन ढलान र सिँढीसहितको पदमार्ग बनाइँदैछ।
चालु आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाबाट विनियोजित ३ लाख ५० हजार रुपैयाँ बजेट र स्थानीयको श्रमदानमार्फत पदमार्ग निर्माण भइरहेको उपभोक्ता समितिले जनाएको छ।
गाउँपालिकाका प्राविधिकले तयार पारेको लागत अनुमानअनुसार हाल १३२ मिटर पदमार्ग निर्माण गरिएको छ।
चमेरेतर्फबाट झाडी फडानी गरी सोलिङ र ढलानसहित साढे एक मिटर चौडाइको पदमार्ग बनाइएको छ, जसमा स्थानीयवासीको सक्रिय श्रमदान रहेको छ।
मुख्य रूपमा दिवंगत व्यक्तिको अन्तिम संस्कारका लागि कालीगण्डकी नदी किनारको आर्यघाट लैजान प्रयोग हुने यो बाटो पुनर्निर्माणका लागि देश–विदेशमा रहेका स्थानीयले पनि स्वेच्छिक सहयोग जुटाउन थालेका छन्।
रानीपौवादेखि चमेरे र कालीगण्डकी किनारसम्मको बाटो जोखिमपूर्ण भएकाले उपलब्ध बजेट अपुग हुँदा थप सहयोग जुटाएर पदमार्ग विस्तार गर्ने तयारी भइरहेको छ।
पछिल्ला दुई सातादेखि दैनिक १२ देखि १५ जना निर्माण कार्यमा खटिएका छन्।
रानीपौवादेखि आर्यघाटसम्मको करिब एक किलोमिटर भिरालो र साँघुरो खण्डलाई स्तरोन्नत गरी पक्की पदमार्ग बनाउने आवश्यकता देखिएको छ।
यस पदमार्गबाट वडा नम्बर ३ रानीपौवा, वडा नम्बर २ तल्लाघर र कोलमुनिका बासिन्दाले पनि अन्तिम संस्कारका लागि आवतजावत गर्दै आएका छन्।
पदमार्ग निर्माण पूरा भएपछि अन्तिम संस्कारका साथै केरा, सुन्तला जस्ता कृषिजन्य उत्पादनको ढुवानी र बिक्रीमा पनि सहज हुने अपेक्षा गरिएको छ।
जंगलबाट घाँस–दाउरा ल्याउन र चमेरेदेखि छोटो दूरीमा गाउँ उक्लिनसमेत यो बाटो उपयोगी हुनेछ।
पदमार्ग पुनर्निर्माण सम्पन्न भएमा चमेरेदेखि रानीपौवा, तल्लाघर हुँदै ऐतिहासिक भगवती कोत मन्दिर र पर्यटकीय रुइसे क्षेत्रसम्म पदयात्राका लागि समेत प्रयोगमा आउनेछ।