Skip to content
अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक खुलेको १७ वर्षपछि स्तरोन्नतिको काम सुरु गरिएको छ।
विसं २०६६ मा स्थानीयले करिब एक करोड रुपैयाँ चन्दा उठाएर आठ दशमलव दुई किलोमिटर लामो यो सडक खोलेका थिए।
सडक खुलेदेखि अहिलेसम्म सामान्य मर्मतकै भरमा जिप, ट्र्याक्टर र मोटरसाइकल मात्र सञ्चालन हुँदै आएको थियो।
साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकलाई सुरक्षित र सहज बनाउन गाउँपालिकाले स्तरोन्नति थालेको हो।
चालु आर्थिक वर्षमा गाउँपालिकाले सडक सुधारका लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ।
६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बगरदेखि सुनारीटोल खण्डमा निर्माण कार्य सुरु गरिएको छ।
यो सडक कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै खोलिएको पुरानो मार्ग हो, जहाँ यस वर्ष सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ।
योजनाअन्तर्गत हाल तीनदेखि चार मिटर चौडाइ रहेको सडकलाई छ मिटर फराकिलो बनाइँदैछ।
सडकसँगै नाली र पर्खाल निर्माण, ३४० मिटर ढलान र ६० मिटर ग्राभेलको काम भइरहेको छ।
फराकिलो पार्ने र संरचना निर्माणपछि ढलानको काम अगाडि बढाइएको छ।
हाल साँघुरो र घुम्ती धेरै भएकाले यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए।
निर्माण कम्पनीले पुसभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक उपकरण, मजदुर र सामग्री परिचालन गरेको छ।
ठेक्काको म्याद चैतसम्म रहे पनि लक्ष्यभन्दा अगाडि नै काम सक्ने तयारी गरिएको छ।
गत वर्ष प्रदेश सरकारको ३० लाख बजेटबाट काम सुरु भएको थियो भने यस वर्ष थप २५ लाख रुपैयाँले योजना निरन्तरता पाएको छ।
सडक स्तरोन्नति भएपछि दोवा क्षेत्रका करिब ३०० घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले यस सडकलाई प्राथमिक आयोजनामा राखी आगामी वर्ष पनि बजेट निरन्तरता दिने र संघ तथा प्रदेश सरकारसँग थप सहयोग माग गर्ने जनाएको छ।
Post Views: 137