मुग्लिन–पोखरा सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुलसँग जोडिने पहुँच सडक निर्माण सुरु गरिएको छ।
पुलको मुख्य संरचना अन्तिम चरणमा पुगेकाले त्यसलाई जोड्न दुवैतर्फ पहुँच सडक बनाउन थालिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।
पहुँच सडक बनाउन व्यास–४ तर्फ केही घरटहरा हटाउनुपर्ने र व्यास–५ तर्फ रहेको सडक डिभिजन कार्यालय स्थानान्तरण गर्नुपर्ने देखिएको छ।
पुल निर्माणको जिम्मा पाएको अन्नक जेडआईटी जेभीका अनुसार हालसम्म पुलको करिब ७४ प्रतिशत काम सम्पन्न भइसकेको छ।
तीन वर्षभित्र सक्ने लक्ष्यसहित ठेक्का लागेको भए पनि म्याद सकिएपछि आगामी असार १९ गतेसम्म समय थप गरिएको छ।
भ्याटसहित करिब १ अर्ब २१ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक संरचना भएको नेपालकै पहिलो पुल हुने दाबी गरिएको छ।
पृथ्वी राजमार्गकै सबैभन्दा लामो आर्क डिजाइनमा बन्ने यो चार लेनको पुल हाल रहेको दुई लेनको पुलभन्दा करिब ५० मिटर पर निर्माण हुँदैछ।