बेनी नगरपालिकाको रत्नेचौरदेखि भकुण्डेसम्मको सडक कालोपत्र गरिएको एक महिनामै बिग्रिन थालेपछि स्थानीय जनप्रतिनिधि र उपभोक्ताले गुणस्तरअनुसार सुधार गर्न माग गरेका छन्।
‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङमार्फत उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा डिबिएसटी प्रविधिबाट कालोपत्र गरिएको थियो।
तर बिटुमिनले चिप्स राम्रोसँग नसमातेको, सडकमा खाल्डाखुल्डी देखिन थालेपछि वडा अध्यक्ष र स्थानीय बासिन्दाले सडक डिभिजन कार्यालयमा पुगेर गुनासो गरेका हुन्।
वडा अध्यक्षहरूले सडकको बेस नै गुणस्तरीय नभएकाले कालोपत्र टिक्न नसकेको बताए।
लिखित रूपमा जानकारी गराउँदा पनि बेवास्ता गरिएको र धुलोयुक्त बेसका कारण बिटुमिन जम्न नसकी कार्पेटजस्तै सतह बनेको उनीहरूको आरोप छ।
स्थानीयको दबाबपछि सडक डिभिजनका अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिले स्थलगत निरीक्षण गरेका छन्। उक्त सडक ९ मिटर चौडाइको भए पनि ७ मिटरमा डिबिएसडी गर्ने सम्झौता भएको छ।
२३ करोडभन्दा बढी लागतको यो आयोजना तोकिएको समयभित्र नसकिएकाले म्याद थप गरिएको छ र हाल करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ।
सडक डिभिजनले देखिएका समस्या सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
निर्माण कम्पनीले बाढी र चिसो मौसमका कारण समस्या आएको दाबी गर्दै, अब पनि सुधार नभए मापदण्डअनुसार पुनः निर्माण गरेर मात्रै सडक हस्तान्तरण गर्ने जनाएको छ।
Post Views: 64