डिजिटल राइड–सेयरिङ सेवा प्रदायक पठाओ नेपालले प्रयोगकर्ताको सुरक्षा र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै २४ घण्टा, सातै दिन सञ्चालन हुने कल सेन्टर सेवा उपलब्ध गराउँदै आएको छ।
यस सेवामार्फत यात्रु र चालकले सेवा प्रयोग गर्दा देखिने समस्या, जिज्ञासा वा आपत्कालीन अवस्थाका लागि तुरुन्तै सहयोग पाउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
पठाओका अनुसार दुर्घटना, विवाद, व्यवहारसम्बन्धी गुनासा, सामान हराउने, भुक्तानी समस्या तथा अन्य आपत्कालीन अवस्थाहरूमा कल सेन्टरले तत्काल प्रतिक्रिया दिने काम गर्छ।
आवश्यक परे यी गुनासा क्विक रेस्पोन्स टिम (क्यूआरटी) वा कम्प्लेन रिसोलुसन टिम (सीआरटी) मा पठाइने भएकाले समस्या छिटो समाधान हुने दाबी कम्पनीको छ।
कल सेन्टरसँगै, प्रत्यक्ष सहयोग चाहिने प्रयोगकर्ताका लागि पठाओले वाक–इन सपोर्ट सेन्टर पनि सञ्चालनमा ल्याएको छ।
यो सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ।
यहाँ चालक र ग्राहक दुवैले प्रत्यक्ष परामर्श, समस्या समाधान र आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।
वाक–इन सपोर्ट सेन्टरबाट चालकको अकाउन्टसम्बन्धी समस्या, कागजात अद्यावधिक, तालिम, सुरक्षा जानकारी, भुक्तानीसम्बन्धी जिज्ञासा तथा अन्य जटिल विषयहरू छिटो समाधान गरिने बताइएको छ।
विशेष गरी नयाँ चालक र जटिल समस्या भएका प्रयोगकर्ताका लागि यो सेवा उपयोगी हुने पठाओले जनाएको छ।
कम्पनीका अनुसार यी सहायता सेवाले पठाओको सुरक्षा, पारदर्शिता र सेवा विश्वसनीयता अझ मजबुत बनाएको छ।