पोखरा महानगर ग्यारेज ‘वर्कसप’ हटाउँदै

पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउन ३५ दिनको समय दिएको छ ।

पृथ्वी राजमार्गको पोखराको प्रवेशद्धार कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदीसम्मका सडकका दायाँका वर्कसप हटाउनका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ ।

त्यसैगरी, नगर क्षेत्रका प्रमुख सडकको दायाँबायाँका सटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको महानगरले जनाएको छ ।

“यस्ता उद्यमबाट महानगरको वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस्ता उद्योग अन्यत्र व्यवस्थापनका लागि सूचना गरिएको हो”, महानगर प्रमुख धनराज आचार्यले भने ।

यस्तै, महानगरले तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवेयर पसल, डिपो तथा अन्य व्यवसायीलाई समेत सडकपेटीमा निर्माण सामग्री र साइनबोर्डलगायत वस्तु तथा सामग्री नराख्न आग्रह गरेको छ ।

महानगरपालिकाको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यम सञ्चालन तथा सामग्री राखेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगर प्रमुख आचार्यले बताए ।

राजमार्ग र मुख्य सडक क्षेत्रका वर्कसपलगायतका उद्यम हटाउने अभियानलाई साथ दिन पनि महानगरले नगरवासीमा अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *