धानखोला- लमही सडक निर्माणका लागि नेपाली कम्पनीसँग सम्झौता

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा बन्ने सडक स्तरोन्नतिका लागि कम्पनी छनोट गरी ठेक्का सम्झौता भएको छ ।

एमसीसी परियोजना कार्यान्वयनको लागि गठित मिलेनियम च्यालेन्ज अकाउन्ट–नेपाल (एमसीए–नेपाल)ले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमीटर सडक निर्माण तथा स्तरोन्नतिका लागि नेपाली कम्पनी शर्मा–कुमार संयुक्त उपक्रम (जेभी) सँग सोमवार सम्झौता गरेको हो ।

नेपाली निर्माण कम्पनी शर्मा एन्ड कम्पनी र कुमार निर्माण सेवा प्रालिको साझेदारीमा उक्त संयुक्त उपक्रम बनेको हो । सन् २०२४ को अक्टोबरमा बोलपत्र आह्वान भएको उक्त सडक परियोजना निर्माणका लागि ११ ओटा निर्माण कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

तीमध्ये शर्मा–कुमार जेभीले जिम्मा पाएको हो । एमसीए नेपालका अनुसार परियोजनाका लागि नेपाली, भारतीय र युक्रेनका कम्पनीहरूले प्रतिस्पर्धा गरेका थिए ।

एमसीए नेपालले यसअघि एमसीसी सहयोगअन्तर्गत बन्ने प्रसारण लाइन निर्माणका लागि पनि ठेक्का सम्झौता गरिसकेको छ । त्यसमा भने नेपाली कम्पनीहरू विदेशी कम्पनीसँगको जेभीमा मात्र पर्ने गरेका छन् ।

नेपालका राजमार्ग तथा सडकमा प्रयोग नभएको प्रविधि प्रयोग गरेर अब उक्त सडक नेपाली निर्माण कम्पनीले बनाउनेछ ।

सोमवार एमसीए नेपालले उक्त जेभीसँग करीब २ करोड अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ ।

उक्त सडक खण्डको मर्मत कार्यान्वयनका लागि करीब २ दशमलव ३७ करोड अमेरिकी डलर मूल्यका दुईओटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।

एमसीए–नेपालले सोमवार कार्यक्रम आयोजना गरेर दिएको जानकारीअनुसार उक्त सडक खण्ड फुल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर स्तरोन्नति हुनेछ ।

‘फुल डेप्थ रिक्लेमेशन’ भनेको निर्माण हुने सडकको बालुवा, गिट्टी झिकेर पुनः प्रयोग गर्नु हो ।

यसमा नयाँ सिमेन्ट मिसाएर पहिलाकै सामग्रीको पुनः प्रयोग गरिन्छ । यस्तै, ‘सुपेरियर पर्फर्मिङ आस्फाल्टमा सडकको सतहलाई समतल बनाइन्छ । यो प्रविधि नेपालमा नयाँ भएकाले महँगो पर्ने बताइन्छ ।

यी आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमीटर सडक खण्डमा स्तरोन्नतिको क्रममा फुल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोगमार्फत ७ मीटरको क्यारिज वे र २ दशमलव ५ मीटरको सोल्डर निर्माण गरी सडकलाई १२ मीटर चौडा गरिनेछ ।

 यसैगरी एमसीए–नेपालले नारायणगढ–मुग्लिन सडकखण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेशनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग करीब ३६ लाख ६० हजार अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ ।

अमेरिकी सहयोगअन्तर्गत नै नारायणगढ–मुग्लिङ सडकखण्डको आवधिक मर्मत गरिने उल्लेख गरिएको छ । धानखोलादेखि लमही मार्गमा प्रयोग गरिने प्रविधि नारायणगढ–मुग्लिङ सडकखण्ड मर्मतमा नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको एमसीए नेपालले बताएको छ ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट तथा शर्मा–कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धानखोलादेखि लमहीसम्मको सडकखण्डको स्तरोन्नतिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

उक्त अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले सडक स्तरोन्नति आयोजना र नारायणगढ–मुग्लिङ सडक मर्मत आयोजनाले कुनै एउटा सम्झौताभन्दा धेरै कुराको प्रतिनिधित्व गर्ने बताए ।

उनले कम्प्याक्टले नेपालमा अत्यावश्यक सडक पूर्वाधार उपलब्ध गराउने र फुल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक मर्मत प्रविधिमा सघाउने बताए ।

अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले नेपालमा पहिलोपटक भित्रिएको नवीनतम प्रविधिबाट दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि बाटो खुला भएको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले नेपालको सडक प्रणालीको गुणस्तरमा सुधार गर्न नयाँ प्रविधि प्रयोग गरेर एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले थप उत्कृष्ट काम गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *