नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) गण्डकी प्रदेशले बाग्लुङमा कास्की, कुस्मा, बाग्लुङ र म्याग्दीका यातायात व्यवसायी, चालक तथा सहचालकका लागि अभिमुखीकरण तालिम आयोजना गरे।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले उद्घाटन गर्दै यातायात सेवा पर्यटन क्षेत्रको मुख्य आधार भएकाले गुणस्तरीय सेवा र राम्रो व्यवहार अनिवार्य भएको बताए।
पर्यटकसँगको व्यवहारले नै देशको छवि बनाउने भएकाले सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।
एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले पोखराबाहिर पहिलोपटक बाग्लुङमा तालिम ल्याइएको बताउँदै राज्यले पर्यटन–मैत्री नीति बनाउनुपर्ने आवश्यकतामा जोड दिए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत युवराज गुरुङले पर्यटन विकासले समुदायको जीवनस्तर उकास्ने भएकाले सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।
पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारी र अन्य वक्ताहरूले पनि यातायात क्षेत्र पर्यटनको मेरुदण्ड भएकाले सेवा, आचरण र व्यवहार सबै उत्तिकै महत्व हुने बताए।
कार्यक्रममा पर्यटन विज्ञ दीपेन्द्र पहारीले आतिथ्यसम्बन्धी प्रशिक्षण दिए भने ट्राफिक प्रमुख मीनबहादुर कुँवरले ट्राफिक नियम र सुरक्षित यात्राबारे प्रशिक्षण दिए। अभिमुखीकरणसँगै पोखराबाट बाग्लुङ–बुर्तिबाङ–ढोरपाटनसम्म प्रवद्र्धनात्मक भ्रमण पनि गरिएको आयोजकले बताए।