हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किमी सडक स्तरोन्नति काम लामो समयदेखि रोकिएको कारण ठेकेदारको ठेक्का अन्ततः रद्द गरिएको छ।
सडक विभागअन्तर्गत इटहरी योजना कार्यालयले श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीसँगको ठेक्का आधिकारिक रूपमा तोडेको सूचना सार्वजनिक गरेको छ।
२०७६ कात्तिक २३ मा करसहित ८३ करोड ९९ लाख रुपैयाँमा तीन वर्षभित्र सडक बनाइदिने सम्झौता भएको थियो। तर चार वर्ष बित्दा पनि काम २५% मात्र भएको पाइयो। सडकको केही भाग ४ लेन र केही ६ लेन बनाउनुपर्ने थियो, तर साइटमा धेरै वर्षदेखि काम रोकिएको कार्यालयले बतायो।
ठेक्का दुई पटक लम्ब्याइए पनि पछिल्लो म्याद पनि गत जेठमै सकिएको थियो। पटक–पटक ताकेता गर्दा पनि काम नबढेकाले ठेक्का तोडिएको इटहरी योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए।
अब कम्पनीको ४ करोड १९ लाख जमानत र ९ करोड ६७ लाख पेश्की रकम (१०% ब्याजसहित) जफत प्रक्रिया सुरू भएको छ।
सार्वजनिक खरिद ऐनअनुसार ठेक्का काटिएको बताउँदै कार्यालयले अब बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकीसरह असुल गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
हालसम्मको कामको नापजाँच र वित्तीय मिलानका लागि कम्पनीलाई १५ दिनभित्र उपस्थित हुन भनिएको छ। उपस्थित नभए कार्यालय स्वयं नापजाँच अघि बढाउने चेतावनी दिएको छ।